October 4, 2023

‘रिटायर्ड’ मुखियाजी


भित्तामा लस्करै सजिएका छन् चित्रहरू। एउटा क्यानभासमा भूकम्पले भत्किएको अवशेषमुनि एक अधबैंसे छन्, खुइय्य सुस्केरा हाल्दै टुक्रुक्क बसेका। न ओढ्ने छानो छ, न टेक्ने जमिन। न त छ समाउने हाँगो नै। भित्ताको अर्को छेउमा केही बालकहरू खुब ध्याउन्नले गुच्चा खेलिरहेका छन्। गुच्चा झैं गुड्दै आउने उनीहरूका लागि सिङ्गै पृथ्वी छ, भोलिको चमक बोकेको।

अब त सबथोक सकियो भन्दै गरेको संसारमा आशाको रहरलाग्दो लहरा छ।

यी दुवै चित्रको बीचमा रहेको सोफामा बसेर गफिइरहेका छन् टेकवीर मुखिया। चित्रकार मुखिया– यो नामले नेपाली कला र साहित्यका पारखीका लागि नमेटिने छाप छोडेको छ। अहिलेसम्म करिब पाँच हजार पुस्तकको कभर डिजाइनमा ‘मुखिया’को हस्ताक्षर कुँदिएको छ। साझा प्रकाशनबाट छापिएका जम्मै पुस्तकका आवरणमा यिनैको कला छ। सात वर्षअघि उमेरका कारण साझाबाट अवकाशसमेत पाइसके।

जिन्दगीका अनेक देउराली–उकालीको चक्कर लगाइसके। घामपानी चाखिसके। अब गर्नु के छ र! इन्द्रेणीको कुन रङ चलाएर क्षितिज रङ्ग्याउन बाँकी छ र! तर, यसो भन्दैमा गर्वले नाक र छाती एकैचोटि फुलाएर यी मुखिया जिन्दगीको बेलुन फुर्सदको आकाशमा उडाइरहेका छैनन्। रङ र ब्रसको बहनाले यतिन्जेल जीवनको डुङ्गा खियाउँदै आएका उनका लागि ८३ वर्षको उमेर पनि लर्के जोवनभन्दा कम छैन। ‘साझाको जागिर छाडेपछि अब के गरेर बसुँला भन्ने कहिल्यै लागेन,’ भन्छन्, ‘म त झन् पो व्यस्त भएको छु।’

कुनै समय ख्यारख्यार साइकल पेलेरै निवास–कार्यालय धाउने धपेडी त छैन अब। तर, पाइडलको रफ्तार अझै थामिएको छैन।

०००

५० वर्षअघिको समयमा दार्जिलिङबाट काठमाडौंसम्मको सफर कति अप्ठेरो गरी तय गरे होलान् मुखियाले! घरको मायालु घेरा नाघेर हिंड्न कति साहस जुटाउनुपर्‍यो होला! अनिश्चित भविष्यले अल्झाउने सपनालाई हरेक पाइला फुकी–फुकी कसरी डोर्‍याए होलान्! तर, उनी त्यो सफरको कथा रोमाञ्चक पुटसहित सजिलो गरी सुनाउँछन्।


जीवन जिउने मेलोमा दार्जिलिङबाट कोलकाता झरेका उनी पेन्टिङकै काम गर्थे। साथीहरूसँग मिलेर फिल्मका पोस्टर पनि बनाउँथे। १८–१९ वर्षे ठिटो यसरी राम–रमाइलोमा सानो घेरामा बसिरहेको बेला सामान्य तर भित्रभित्रै चिमोट्ने घटना भयो उनको जीवनमा। राजा महेन्द्र, रानी रत्न र बीपी चीनको भ्रमण सकेर कोलकता हुँदै काठमाडौं फर्कने क्रममा थिए। त्यही मेसोमा कोलकातामा एउटा कार्यक्रम राखिएको थियो। स्थानीय क्लबले गरेको कार्यक्रममा राजा–रानीलाई उपहारस्वरूप दिने चित्र बनाउने जिम्मा उनैले पाए। ‘जीवनमा कहिल्यै पशुपतिनाथ मन्दिर नदेखेको मैले यत्तिकै कल्पनाकै भरमा मन्दिरको चित्र बनाएँ, छेउमा बच्चा खेलाइरहेकी नेपाल आमाको प्रतीक थपेँ,’ उनी सम्झन्छन्, ‘रानीका लागि चाहिँ छमछमी नाचिरहेकी युवतीको चित्र कोरेँ।’

कार्यक्रम भयो, सकियो। तर, त्यसपछि उनलाई नेपाल जान पाए हुन्थ्यो भन्ने अनौठो रहरले सताउन थाल्यो।

नेपालको भोक जगाउने यति मात्र कारण थिएन। एक दिन रेडियो सुन्दै गर्दा नारायणगोपालले गाएको गीत बजेछ, ‘आँखाको भाका आँखैले...।’ त्यसअघि नेपाली गीत कहिल्यै नसुनेका उनलाई झन् के चाहियो र! गीत कति गजब लाग्यो भने कानमै रेडियो चपक्क टाँसेर उनी दंग परिरहे। कलाको पूजा हुने र साधना गर्ने ठाउँ त त्यो पो रैछ भनेर ठम्याए सायद। नेपालको मोहनीले अब त झन् मुटुमै घर बनायो। नजानिँदो गरी त्यो घरमा पखेटा पलाउँदै गयो। तर, त्यस्तो आकर्षणमा रमेको १० वर्षपछि मात्रै उनले नेपाल पस्ने आँट बटुले। किस्सा सुनाए, ‘साथी भेट्न भारतकै जमसेदपुर जान्छु भनेर घरमा ढाँटेर आखिरमा काठमाडौं आएँ।’

काठमाडौंमा मामा थिए। बरालिँदै बसे केही समय। पशुपतिनाथ मन्दिरतिर गएर बाँदरका स्केच बनाउँथे। यसरी नै बित्यो तीन महिना। त्यस्तै अवस्थामा चित्रकार शंकर सुवालका दाइले भेटे। उनैले जागिरको बाटो देखाए, ‘तिमी जस्तो कलाकार यसरी बस्ने हैन, एउटा प्रेसमा काम गर्ने मान्छेको खोजी भइराको छ।’ सुब्बा ऋद्धिबहादुर मल्लको जोरगणेश प्रेसमा कलाकार चाहिएको रहेछ। नभन्दै उनले त्यहाँ चिफ आर्टिस्टका रूपमा काम पाए। मल्लका पुत्रद्वय गोविन्दबहादुर मल्ल गोठाले र विजय मल्लको सरसंगतिमा रहेर काम गर्दै गए। ‘कर्मचारी हैन, मैले त साक्खै दाजुभाइको जस्तो व्यवहार पाएँ,’ पुराना खुसी धमिला आँखाछेउ मुजा पारेर जतनसाथ राखेका छन् उनले। मल्ल दाजुभाइमध्ये भाइ विजयको झन् निकै प्यारा थिए मुखिया।

फराकिलो चित्रकारी दुनियाँमा छिर्ने आँखीझ्याल भने बच्चै बेलामा बुनेका थिए उनले। स्कुलमा नयाँ किताब किनेको दुई महिनामै चित्र कोरेर, रङ भरेर बिरूप पारिसक्थे। चित्रको जुलुसबाट छलिँदै अक्षर खोज्नुपर्थ्यो पानाहरूमा। रहरको बल्छी थाप्ने काँचो मगज भए पनि जीवनमा केही गतिलो काम गर्नुपर्छ भन्ने भावना भित्र कतै थियो नै। तर, लेखपढ छाडेर समाजले अनुत्पादक ठहर्‍याएको चित्रकारितामा त्यसरी लहसिएको देख्दा घरका मान्छेले किन पो सहन्थे र! बा–आमाबाट खप्की र गालीको नियमित खपत हुन्थ्यो। त्यसमाथि उनी बाँसुरी बजाउन पनि सोखिन थिए। कतै फेला पार्न नसके आफैंले बाँसुरी बनाएर भए पनि बजाउनैपर्थ्यो। दिनभर ढोका थुनेर कि चित्र बनाउने, कि त बाँसुरी बजाइराख्ने।

‘मेरो त्यस्तो ताल देखेर बुवा तिम्रो पागल छोरोलाई राँची लैजानुपर्छ भनेर आमासँग झोंक्किइराख्नुहुन्थ्यो,’ आफैंले बनाएको महाकवि देवकोटाको मुहारचित्र शैलीमा खिसिक्क हाँसे। औपचारिक पढाइबाहेक टसमस गर्न नदिने समयका एक ‘शिकार’ उनले भने आफ्ना छोरा र छोरीलाई उनीहरूकै रोजाइमा मनमौजी उड्न दिएका छन्। छोरा समृद्ध अमेरिकामा फाइन आर्ट पढ्दै छन् भने छोरी श्रद्धा नर्वेमा कलाको दर्शन। सिङ्गो घर नै रङ्गीन क्यानभासले ग्यालरी बनेको मुखिया निवासमा बूढा मुखियाको पथ पछ्याउँदै छोरा–छोरीले बनाएका चित्र पनि भित्तामा सुहाएका छन्। आफूले आठ कक्षाभन्दा बढ्ता पढ्न नसके पनि छोरा–छोरीको सिर्जनशील कदमा उनले आफ्नो क्षमता र पौरख नापेका छन्।

०००

ढाँटेर, भागेर नेपाल पसेको छोरोले काम गर्न थालेर दुई–चार पैसो कमाउन थालेपछि घरमा बा–आमाले चित्त बुझाउँदै गए। यता हातको सीप फैलिएर बिक्दै गयो। जोरगणेश प्रेसमै जागिरे छँदा साझा प्रकाशनको छापाखानामा पुस्तकको आवरण बनाउने काम सुरु गरे, २०२२ सालदेखि। त्यति बेला आफूले गरेको जस्तो दु:ख कुनै कलाकारले नगरेको उनी लख काट्छन्।

दुवैतिरको कामको चाप धान्न नसक्दा बाँकी काम राति कोठामै सक्ने गरी लैजान्थे। त्यति बेला जावलाखेलमा मामा–माइजूसँगै बस्थे उनी। ‘एकसुरले काममा लागिरहँदा भाले बासेपछि पो लौ बिहान भएछ भन्ने थाहा हुन्थ्यो,’ मुखियाले आफ्नो दुखिया अध्याय पल्टाए। साझाको छापाखानामा काम थालेको झन्डै दुई दशकपछि मात्रै त्यहाँ जागिरेको रूपमा प्रवेश पाए उनले। पुस्तक छपाइको चाप हुने समयमा एकै दिन चार वटासम्म पुस्तकको आवरण डिजाइन गरेको अनुभव छ उनीसँग। सुरुवाती समयमा आवरण कला बनाउने हरेक उपन्यास, कथासंग्रह र काव्य पूरै पढ्थे। तर, समय भ्याउन छाडेपछि निचोड मात्र बुझेर बनाउन थाले।

साझाबाट आफ्नो चित्रकार छविलाई उज्यालो र फराकिलो बनाएका मुखियाले त्यही संस्थाको दुरवस्था हेर्दै बिदा लिए। कर्मचारीलाई तलब ख्वाउनै नसक्ने गरी संस्था घाटामा गइरह्यो। छापेका पुस्तकहरू गोदाम सजाउने जिनिस मात्र भए। यो सब हुनुमा राजनीतिक प्रभाव र लेखकहरूको संस्थामा लेखकहरू नै धमिरा बन्नुले असर गरेको थियो। उनले बुझेको कुरो– ‘लेखकहरू एकजुट भएको भए साझाको यो गति हुने थिएन।’

एकातिर जथाभावी ढंगले पुस्तक छनोट र प्रकाशनले संस्थाको व्यावसायिकतालाई बोझ थप्ने गरेकै थियो। अर्कातिर, संस्थाको क्षमता र आवश्यकताभन्दा बढी कर्मचारी पाल्नुपर्ने अवस्था। माथिल्ला पदमा आउने मान्छेले आ–आफ्ना निकटलाई कर्मचारी भर्ती गर्दा त्यस्तो अवस्था आएको थियो। नयाँ सञ्चालक समिति आएपछि अहिले साझा फेरि तंग्रिने तयारीमा छ।

सयौं पुस्तकको आवरण कला बनाइसक्दा आफ्ना सबै सिर्जना उत्तिकै प्यारा लाग्छ भनेर कूटनीतिक जवाफ दिन्छन् मुखिया। तर, यसमध्ये प्रा.माधवप्रसाद पोख्रेलको ‘गार्गीको गाँठो’ (साझा प्रकाशन, २०६२) निबन्धसंग्रहको कलालाई धेरैले रुचाएको आधारमा त्यसमा सन्तोष मानेका छन्। सबैभन्दा बढी चाहिँ युधीर थापाका उपन्यासहरूको कभर डिजाइन गरेका रहेछन्, जुन रत्न पुस्तक भण्डारबाट छापिएका थिए।

०००

चित्रमा रेखाहरूले बोल्ने काम गर्छन् भने रङहरूले त्यसमा लालिमा थपेर बोली झन् सजीव र टाठो बनाउँछन्। सादा जीवन बाँच्दै आएका मुखिया चित्र बनाउँदा पनि अक्सर सादा रङ नै रोज्छन्। सेतो रङ बढी मन पर्छ। जादूगरका जस्ता बाटुला औंलाहरू हावामा नचाउँदै भने, ‘सफ्ट कलरमा प्रेम, शान्ति, सद्भाव खुब रमाएर खुल्छन्।’ ललितपुर भैंसेपाटीस्थित उनको घर पनि सेतो रङ पोतेर सुकिलो चित्र जस्तो बनाएका छन् उनले। भुइँतलादेखि माथिल्लो तलासम्म भित्तामा सजाएका क्यानभासहरूमा ‘डेली लाइफ’ झल्काउने गाउँघर र भित्री टोलको जीवन देख्न पाइन्छ।

ललितकलाको कतै कुनै तालिम नलिएको मान्छेले आफ्नै बलमा यत्तिको चिनारी बटुल्नु चानचुने कुरा हैन। पानी रङ र तैल्य चित्रमा समाज, संस्कृति र मानव भोगाइका सरल बिम्ब उतार्ने उनी अमूर्त चित्र पनि रुचाउँछन्। आफूले त्यति धेरै नबनाए पनि अरूले बनाएको अमूर्त चित्रमा रङको संयोजनबाटै कलाको उचाइ र विशिष्टता पारख गर्छन्। किरण मानन्धरको अमूर्त अभिव्यक्तिमा जीवन्तता भेट्छन् मुखिया। सर्वसाधारणले झट्ट हेर्दा अमूर्त चित्रमा किरिङमिरिङ रेखा र रङहरूको थुप्रो मात्रै देखे पनि त्यो पनि भावना अभिव्यक्त गर्ने माध्यम ठान्छन् उनी। तर, कलाको विराट निधारमा पनि विकृतिको ज्वरो छामेका छन् उनले। भन्छन्, ‘पोख्त भएरै मान्छेहरू एब्स्ट्राक्ट आर्टमा लाग्छन् जस्तो लाग्छ। तर, केही नबुझी लाग्ने नयाँहरू अहिले थुप्रै छन्, हामीलाई त मान्छे नै गन्दैनन् तिनले।’

सुन्दर घरमा पनि कतै कुनामा माकुराको जालो झोल्लिएको हुन्छ नै। कला–साहित्य क्षेत्रमा देखिने धाँजा पनि त्यस्तै हुन्। केही समस्याको बीचमै नेपाली ललितकलाले नापेको बाटोमा प्रगति नै देख्छन् मुखिया। आधुनिक कलाचेत, दर्शक अभिरुचि, अन्तर्राष्ट्रिय पहुँच सबै बढ्दै गएको छ। नेपाली थाङ्का कला उत्कृष्ट लाग्छ उनलाई।

सञ्चार माध्यमले कलालाई विशेष महत्त्व दिएसँगै पछिल्लो समय दर्शकको चाख बढ्दो छ। सहरमा कला प्रदर्शनी हुने क्रम पनि बाक्लिएको छ। चित्र किनेर घरमा सजाउने चलनले कलाकारले सम्मान र दाम पाउँदै छन्। ग्यालरीसम्म दर्शक आउने विश्वासले न्युड आर्टसमेत खुलेर उत्रिन थालिसके। तर, त्यसरी प्रदर्शनीमा भाग लिन खासै जाँगर लाग्दैन उनलाई। एकलासकै जीवनमा रङ भरिरहेछन्। रङ भेटिरहेछन्।

८३ वर्षे पाका साधकको कलाको स्वाद लिन कतिजनाले उनको निवासको दूरी नापिरहने ?

०००

नेपाल आएपछि काठमाडौं नै कर्मथलो र रमाइलो संसार बने पनि त्यो संसारलाई सिंगार्न भने उनी दार्जिलिङ नै पुगे। २०३९ सालमा खर्साङकी शुक्रसँग घरजम गरेर फर्किए यतै। सपनाजस्तो रोमाञ्चक जीवन बाँचेका उनको मनको भित्ताले त्यस बेलादेखि उदासीको रङ देखेको छैन। बरु केही ‘काइदा कानुन’ र अनुशासनले जीवनको नदीमा बाँध हालेर व्यवस्थित पारिदिएको छ। घरको भित्तामा टाँगिएका चित्रहरू श्रीमतीकै इच्छा र आग्रहअनुसार बिक्री गर्दै नगर्ने नियममा छन्। यसमा खुसी नै छन् उनी। सुनाउँछन्, ‘बिक्री गर्ने भन्यो भने त अहिले नै मान्छे आउन तयार छन् घरमा, तर नयाँ बनाएको चित्र मात्रै बेच्ने अब।’ यही ध्याउन्नमा भुइँतलाको कुनाको कोठामा ब्रस र रङले क्यानभासको शून्यतामा केही अर्थ निकाल्न जुटिरहेका हुन्छन् उनी।

चित्रकै दुनियाँले आफ्नो दुनियाँ स्वर्ग बनाए पनि उनकै भनाइमा आफ्ना केही खराब बानीले काममा भाँजो हालिरहन्छन्। टीभी हेर्नका निकै भोगी छन्। फिल्म हेर्ने लत बच्चैदेखिको हो। पहिले खर्साङ, कोलकातामा हलमा गएर हेर्थें, अहिले टीभीमै आउने फिल्महरू हेर्छन्। ‘मेरो लागि एकदम छिटो आइदियोजस्तो लाग्छ यो टेलिभिजनको दुनियाँ। काम गर्ने समय खान्छ भनेर यही कुरामा बूढी कराइरहन्छ,’ फिस्स हाँसे।

दार्जीलिङ छँदा फिल्म हेर्नकै लागि एक्लै घना जंगलको बाटो मसानघाट हुँदै डेढ घन्टा हिंडेर खर्साङ पुग्ने गरेको उनले सम्झिए। झमक्क रात परेपछि त्यही एकलासको बाटो काँतर मन लिएर फर्कन्थे। फिल्म सकिनलाग्दा डरलाग्दो बाटो कसरी फर्कने भन्ने डरले मुटु खाइरहन्थ्यो। आफ्नो उमेरका साथीभाइ त्यसरी फिल्म हेर्ने रुचि राख्ने खालका कोही थिएनन्। अलिक बुझ्ने भएपछि कोलकातामा हेरेको ‘द लास्ट सनसेट’ विशेष यादगार बनेर बसेको छ।

किशोर वयमा उनी उडिरहेको चरालाई गुलेलीले फुत्रुक्क खसाल्थे। समयले उल्टोपाल्टो पार्छ सबथोक। अहिले त्यस्ता चरा उनको क्यानभासमा बास माग्न आउँछन् र सुरक्षित रूख पाउँछन्। उमेरको तीर्थयात्रामा जीवन भोग्दै आउँदा अध्यात्मको रेसा पनि तहतह बनेर बस्दै गएको छ।

०००

बागडोलको घर बेचेपछि दश वर्षयता भैंसेपाटीमा बसिरहेका छन् उनी। घर बनाएर अलिक नाफामा बेच्दै छोराछोरीलाई पढाए। रुटिनमा बाँधिएको १०–५ को जागिर छाडेयता घर–संसारकै दुनियाँमा हरसमय व्यस्त हुँदै आएका छन्। पेन्टिङमा बरु पर्याप्त समय दिन सकेका छैनन्।

उनी जमानादेखि नै आफ्नो लुगा आफैं धुन्छन्। खान र पकाउन दुवैमा निकै सोख छ। आफू शाकाहारी भए पनि पाहुनाहरू आउँदा मासुका परिकार बनाउन आफैं अघि सर्छन्। यस्तो परिकार बनाउन उही ‘नराम्रो बानी’ टीभी हेर्दाको सिकाइ काम लाग्छ। ट्राभल एन्ड लिभिङ च्यानल (टीएलसी) बाट रेसिपी सिक्छन्।


‘मान्छेहरू आउँदा हामी बूढा–बूढीलाई देख्यो भने छक्कै पो पर्छन् हौ। एकै घरमा दुई गृहिणी भेट्छन्। हाहा,’ जोडले खित्का छाडे। यसरी मुखियाजी हरेक कुरामा कला खिपेर बाँचिरहेछन्।

पछिल्लो समय भुल्ने समस्याले सताएको छ उनलाई। पुराना धेरै कुरा यादको बहीखाताबाट उप्किँदै जान थालेका छन्। झस्का लाग्छ उनलाई, ‘बेलाबेला त आफैंलाई पो भुल्छु कि भन्ने पो डर लाग्छ।’

यदि त्यसो भएर कुनै दिन उनले जीवन जिउनै भुले भने ? अहिले उनले घरीघरी नजर लगाइरहने आफ्नै चित्रका पात्र र परिवेश त्यस बेला झन् सजीव हुँदा हुन्। सजीव क्यानभासहरूले उनले हेरेको पैंचो तिर्दै एकटकले हेरिरहँदा हुन्, बिल्कुल पलक नझिम्काई।

(२०७३ जेठ १५ गते कान्तिपुर-कोसेलीमा प्रकाशित।)

August 26, 2023

दूरी


अचेल हेरिन्न पल्लो घरको झ्याल
खोलिन्न संवादको आत्मीय पर्दा
मौन एकदम मौन छन् चौतारो र फल्चा

September 6, 2019

गजल : बाँकीले एक थान चिहान बनाउँछन्


सक्नेले आफ्नो पहिचान बनाउँछन्
बाँकीले एक थान चिहान बनाउँछन् ।

थोरै मात्र हुन्छन् दुनियाँमा जसले,
साहसलाई सदा जवान बनाउँछन् ।

February 1, 2017

उदय प्रकाश, वजन र कविता

Udaya Prakash

अंग्रेजी भाषा मेरो लागि सधैं हाउगुजीको विषय रह्यो । भाषाकै सीमाका कारण विदेशी साहित्यको तिर्खा मेट्न त्यो बृहत् संसारमा हाम फाल्ने आँट कहिल्यै जम्मा भएन । गोटागोटी अक्षर फुटाउँदै छिचोलेका अर्थले धित मरेन।

अंग्रेजीको भूतले वञ्चित गरेको पठन सुखलाई केही हदसम्म हिन्दी भाषाको पहुँचले पोल्टामा हालिदियो । हिन्दीको पनि जम्मै अक्षर फुटाउन नसक्दा आफूभित्रको पाठक मुर्मुरिन्छ । तैपनि सागरमा फैलिएको अंग्रेजीलाई गागरमा सारिदियो भन्दै हिन्दीप्रति मन बुझाउँछु।

August 30, 2016

'वारि जमुना'को बिदाइ

शुक्रबार साँझ अन्तिम सास छाडेका लोकगायक खेमराज गुरुङ आइतबार पशुपति आर्यघाटमा खरानी भएर उडे । अब जनमानसमा उनका गीतका तरंग बाँकी छन् । जुन हावाकै काँध चढेर एक कान दुई कान मैदान उडिरहनेछन्।

खेमराजको पर्याय हो ‘वारि जमुना पारि जमुना’ गीत । यही पूर्वेली भाकाबाट उनले डेढ दशकअघि देश-विदेश नै गुञ्जायमान पारेका थिए।

चार वर्षअघि उनीसँग विशेष रुपमा भेट्ने चाँजो मिलेको थियो।